गृहकार्य आतङ्क नै हाे त ? लक्ष्मण भण्डारी - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जनज्योती मावि, प्रगतिनगरमा विभाजित चार सदन मध्ये मनास्लु सदनका विधार्थी भाई वहिनीहरुसँग

Friday, October 4, 2024

गृहकार्य आतङ्क नै हाे त ? लक्ष्मण भण्डारी

के गृहकार्य आतङ्क नै हो त ? पक्कै पनि हिजोका दिनमा दसैँका बेलामा विद्यालयबाट विद्यार्थीलाई दिइने गृहकार्यले बालबालिकालाई तनाव दिने, लेखपढतिर वितृष्णा जगाउने र उत्सवका बेलामा पनि दुःखी बनाउने काम गर्दथे, तर आज त्यो क्रममा व्यापक कमी आएको छ । कतैकतै गृहकार्यको अतिबोझको भारी बोकाइए पनि अधिकांश शिक्षालयमा दसैँतिहारमा दिइने गृहकार्य कम हुने गरेका र भए पनि सिर्जनात्मक हुने गरेका छन् । यस्तो अवस्थामा शैक्षिक क्षेत्रमै काम गरेका, शिक्षक, प्राध्यापक र शैक्षिक अभियन्तासमेतले गृहकार्यलाई आतङ्कका रूपमा चित्रण गरेर यसप्रति वितृष्णा फैलाउने काम पक्कै राम्रो होइन । दसैँमा बालबालिका के २४ सै घण्टा मनोरञ्जन मात्रै गरेर बसून् भन्ने हाम्रो उद्देश्य हो ? उनीहरूले भात त खानुपर्ला ? नुहाइधुवाइ, सरसफाइ त गर्नुपर्ला !? घरका काममा केही समय बाबुआमासित रमाउन अथवा सघाउन त पर्ला ? उनीहरूको भात खान, निदाउन, हिँडडुल गर्न परेजस्तै दैनिक २, ३ घण्टा पढ्दा, लेख्दा, कुनै परियोजना कार्यमा सहभागी हुँदा के बिग्रन्छ ? के यसरी दिइने गृहकार्य आतङ्क हुन सक्छ ? दसैँमा उनीहरूले मन लागेको कुरा गरून् भन्ने हो भने चौबीसै घण्टा मोबाइल हेर्न चाहिँ सक्छन् है । के आँखा बिगार्ने गरी घरको कोठाभित्र चुकुल लगाएर चौबीसै घण्टा मोबाइलमै रमाऊन् भन्ने हो हाम्रो आशय ? किताबलाई आजभोलि किन यति सारो घृणा ? मोबाइल नै सबै थोक हो भन्ने हो ? सस्तो लोकप्रियताको नाममा हामी जथाभावी शब्दको प्रयोग गरिरहेका छौँ ? आजभोलि शुक्रबारलाई ‘बुक फ्रि’ डे भनिएको छ । अहो, किताबले यस्तो सारो बालबालिकालाई बिगारेको छ,है ? किताब छोड्नासाथ उसको प्रगति हुन्छ ? किताबलाई घृणा गर्नासाथ बालबालिका राम्रा हुन्छन् ? हुन्छन् भने किन कोर्समा किताब राखेको ? ठीक छ, शुक्रबारलाई ‘व्यावहारिक शुक्रबार’, ‘सिर्जनात्मक शुक्रबार’, ‘सुखद शुक्रबार’, ‘प्रयोगात्मक शुक्रबार’ भनौँ, तर ‘किताबमुक्त शुक्रबार’ नभनौँ । यसै त आज विद्यालयमा पठन संस्कृति छैन, त्यसमा पनि यस्ता नारा दिएपछि कसैले पनि पनि किताब हेर्दैन । किताब नहेरे पछि के हुन्छ ? त्यो त भनिरहन नपर्ला ? सबै किताब विद्यार्थीलाई तनाव मात्रै दिने किताब त हुन्नन् नि ! यदि कुनै किताबले विद्यार्थीलाई तनाव दिन्छ भने किताबभन्दा धेरै शिक्षक र विद्यार्थीकै कारणले हुन्छ । उनीहरू हाँस्ने, रमाउने, मनोरञ्जन गर्ने, नयाँनयाँ कुरा बनाउन सिकाउने पुस्तक पनि त हुन्छन् । विद्यार्थीको पहिचान नै किताब हो, त्यस्तो मानिसलाई ‘किताबमुक्त’ तुल्याउन खोज्ने मानिस मलाई लाग्छ, त्यो विद्यार्थीको समग्र हित चाहने मानिस होइन । किताबप्रति वितृष्णा जगाउने सबै अभियान बन्द गरौँ । संसारको निर्माण, मानिसको खुसी, जगत्को कल्याण, सबैप्रति सद्भाव, नयाँनयाँ आविष्कारका रहस्य सबै किताबमै छन् । रातदिन किताबसितै बसउठ गर्ने मानिसले कम्तिमा यो कुरा नबिर्सौँ । हामी बुझ्छौँ, ‘किताबमुक्त शुक्रबार’को खास अभिप्रायः किताबी ज्ञान अर्थात्, कोर्सका किताबबाट, भिन्न र प्रयोगात्मक ज्ञानतिर अभिमुख होऊँ भन्ने हो, राम्रो कुरा हो, तर शब्द प्रयोग गर्दा विचार गरौँ । हाम्रा छोराछोरी किताब छोड्दा, त्याग्दा वा किताबबाट टाढा हुँदा खुसी हुने सन्देश प्रवाह नगरौँ । रमाइला कथा, कहानी, चुट्किला अथवा प्रविधिसम्बन्धी पुस्तक लिएर पनि त शुक्रबारका व्यावहारिक कक्षामा सहभागी हुन सकिन्छ । दसैँका बेलामा पनि ‘गृहकार्य’लाई ‘आतङ्क’ बनाएर प्रचार नगरौँ । झट्ट सुन्ने मान्छेले बिस्तारै सानो, ठूलो, सिर्जनात्मक जस्तो भए पनि गृहकार्य जति सबै आतङ्क नै हुन् भनेर बुझ्ने सम्भावना धेरै हुन्छ । यस्तो भयो भने भोलि हाम्रा बालबालिकाले गृहकार्य नै नगर्ने खतरा बढेर जान्छ । तसर्थ, दसैँमा दिनमा बालबालिकालाई २—३ घण्टा सिर्जनात्मक तरिकाले पढाइलेखाइमा व्यस्त राख्ने कामलाई स्वागत गरौँ, दिनरात होमवर्ककै चिन्ताले सताउने वातावरण कसैले पनि नबनाऔँ । बच्चा रमाउने, खुसी हुने, लेखपढ र खोजअन्वेषणका सबै सिर्जनात्मक गृहकार्यलाई स्वागत गरौँ । तर, गृहकार्यलाई आतङ्क हो भनेर आरोपित नगरौँ, गृहकार्यका नाममा बच्चालाई कसैले त्रसित पनि नबनाऔँ । सामाजिक सञ्जालमा दुईचार सय लाइक, कमेन्ट, सेयरको लोभमा आवेगमा आएर जे पायो त्यही, नबोलौँ । शब्द प्रयोग गर्दा विचार गरौँ । जय दसैँ ! जय बालबालिका ! जय गृहकार्य !! लक्ष्मण भण्डारी उत्प्रेरक

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot